जेठ १५ गतेका लागि तय गरिएको नेपाली चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ। देशभर फैलिएका आन्दोलन र विषम परिस्थितिका कारण सिर्जिएको असहज अवस्था मध्यनजर गर्दै निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्तिमार्फत प्रदर्शन हाललाई रोकिएको जानकारी गराएका हुन्।

विज्ञप्तिमा उल्लेख छ, “पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ।”

चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले देशको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेका छन्। साथै, अवस्था सामान्य भएसँगै पहिलो सम्भव अवसरमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने बताएका छन्।

‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको चलचित्र हो। प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूले केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ।

चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीको अपेक्षा राखेको जनाएको छ।