साइकोलजिकल थ्रिलर फिल्म ‘द ब्लू लाइट’ को छायांकन यही जेठ २१ गतेदेखि सुरु हुँदैछ। फिल्मको तयारी तीव्र रूपमा अगाडि बढिरहेका बेला अहिले कलाकार छनोट प्रक्रिया चलिरहेको छ। निर्माण टिमले हालै अभिनेत्री बेनिशा हमाल र अभिनेता अर्पण थापालाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिसकेको छ। निर्माताले केही दिनअघि नै उनीहरूसँग लिखित सम्झौता गरेका छन्।

बेनिशा हमालले आफू फिल्ममा आबद्ध भएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै लेखेकी थिइन्,
“केही प्रोजेक्टहरू स्क्रिप्ट पढ्नेबित्तिकै हृदयसँग जोडिन्छन्। यो मेरो लागि त्यस्तै रह्यो। गहिरो, फरक तथा अर्थपूर्ण कुरा प्रदान गर्ने कथाको हिस्सा हुन पाउँदा म अविश्वसनीय रूपमा कृतज्ञ महसुस गर्छु। यसमा मैले यस्तो भूमिका निभाउँदैछु, जुन यसअघि कहिल्यै गरेको थिइनँ।”

फिल्म ‘द ब्लू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्दै छन्। चौहान विगतमा चर्चित फिल्म *‘बलिदान’*का लेखक तथा मुख्य सहायक निर्देशक थिए। यो फिल्म उनको निर्देशनमा बनेको पहिलो प्रोजेक्ट (डेब्यु निर्देशन) हो। फिल्म स्काइफल पिक्चर्सको प्रस्तुति हो भने सह-निर्मातामा रमन ग्रे रहेका छन्।

फिल्मको छायांकन अनुभवी सिनेमाटोग्राफर नरेन्द्र मैनालीले गर्नेछन्।

गत साता सार्वजनिक गरिएको थिम पोस्टरमार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरिएको थियो। पोस्टरमा निलो रङको गहिरो वातावरणबीच उभिएकी एक बालिकाको कम्मरमाथिको भाग देखाइएको छ। उनका झलमल्ल कपाल र विछिप्त मुद्राले फिल्मको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि संकेत गर्छ। यद्यपि, पोस्टरले फिल्मको कथा भने स्पष्ट रूपमा खुलाउँदैन।