गोविन्द गौतमको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली फिल्म ‘परी’ को औपचारिक घोषणा गरिएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त कार्यक्रम गर्दै फिल्मबारे जानकारी गराइएको हो।
फिल्ममा किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल, प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायत कलाकारको अभिनय रहनेछ।
स्क्रिप्टप्रति कलाकारको उत्साह
कार्यक्रममा कलाकार किरण केसीले स्क्रिप्ट निकै उत्कृष्ट भएको भन्दै काम गर्न उत्साहित भएको बताए। ‘‘दीपा र हामीले स्क्रिप्टमा यति धेरै मिहिनेत गरेका थिएनौं, जति डाइरेक्टर सापले गर्नुभएको छ,’’ उनले भने।
दीपाश्री निरौलाले पनि कथाले आफूलाई निकै आकर्षित गरेको बताइन्। ‘‘यो फिल्मको स्क्रिप्टमा निर्देशकले धेरै मिहिनेत गर्नुभएको छ, त्यसैले म खेल्न राजी भएँ,’’ उनले भनिन्।फिल्मको छायांकन यही जेठको अन्त्यदेखि सुरु गर्ने योजना निर्माण पक्षले राखेको छ।
प्राविधिक पक्ष बलियो
फिल्ममा बाबु श्रेष्ठको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपक शर्मा र विकास चौधरीको संगीत, आनन्द अधिकारीको शब्द रचना तथा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको स्वर समावेश हुने छ।