साइकोलोजिकल थ्रिलर विधामा आधारित नेपाली फिल्म ‘द ब्लू लाइट’ को शुभ मुहूर्त गरिएको छ। मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजापछि नरिवल फुटाएर औपचारिक रूपमा मुहूर्त गरिएको हो।
निर्माताहरूका अनुसार फिल्मको छायांकन जेठ २२ गते (2025 को जूनको सुरुवात) देखि सुरु गरिनेछ। फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकाभित्र हुने बताइएको छ।
फिल्म निर्देशन बलिराम चौहानले गर्दै छन्, जसले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। निर्देशक चौहानले कलाकारको बलियो लाइनअप प्रस्तुत गरेका छन्।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त (इटानी) लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ।
केही दिनअघि मात्रै निर्माण घोषणा गर्दै फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा निलो रङले घेरेको वातावरणबीच उभिएकी एक बालिका देखिन्छिन्। कम्मरदेखि माथिसम्म देखाइएको बालिकाको जुङरुङ्ग कपाल र विछिप्त मुद्राले फिल्मको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ।
फिल्म स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुँदैछ भने रमन ग्रे सह-निर्माताको भूमिकामा रहेका छन्। फिल्मका छायाँकार नरेन्द्र मैनालीरहनेछन्।
निर्देशक चौहानका अनुसार, ‘द ब्लू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने योजना रहेको छ।