सामाजिक प्रेमकथामा आधारित नयाँ नेपाली फिल्म ‘जदौ’ को निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। तर, निर्देशकको टुंगो नलाग्दै मुख्य कलाकार अनुबन्ध गरिएको खबरले चर्चा पाएको छ।

निर्माताले हालै अभिनेत्री साम्राज्ञी आरएल शाहलाई फिल्मको मुख्य भूमिकामा औपचारिक रूपमा अनुबन्ध गरिसकेका छन्। निर्देशकको छनोट भने अझै बाँकी रहेको बताइएको छ। निर्माता समुहले निर्देशकबिना नै कलाकार छान्ने निर्णय गर्नु नेपाली फिल्म उद्योगमा बेलाबेला देखिने परिपाटीको निरन्तरता हो।

नयाँ वर्ष २०८२ को बैशाख १ गते स्क्रिप्ट पूजासँगै फिल्मको टाइटल डिजाइन सार्वजनिक गरिएको थियो। ‘जदौ’ फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ।

निर्देशकको नाम छिट्टै घोषणा गरिने समिश्रण मुभिजका निर्देशक अञ्जन शर्माले जानकारी दिएका छन्। फिल्मको छायांकन आगामी भदौमहिनाबाट सुरु गरिने योजना रहेको छ।

फिल्मका अन्य प्राविधिक पक्षमा:

  • छायांकन: श्याम तामाङ्ग

  • संगीत: बाबुल गिरी

  • निर्माण व्यवस्थापन: बुद्धि माझी

  • सह-निर्माताहरू: ओम चेम्जोङ्ग, राजाराम सुवेदी, शान्ता तामाङ्ग

यसै वर्षभित्र रिलिज गर्ने लक्ष्य लिएको फिल्म ‘जदौ’ मा हाललाई साम्राज्ञी बाहेक अन्य कलाकारहरू टुंगो लागेको छैन।