‘ह्रस्व दीर्घ’ जस्ता चर्चित फिल्म निर्देशन गरेका चन्द्र पन्तको आगामी प्रस्तुति ‘आ बाट आमा’ को कलाकार टोली क्रमशः बलियो बन्दै गएको छ। केही साताअघि मात्र अभिनेत्री विपना थापालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको यो फिल्ममा अब लोकप्रिय अभिनेता पल शाह पनि औपचारिक रूपमा जोडिएका छन्।

निर्देशक पन्त र पलबीच हालै लिखित सम्झौता भएको छ। प्राप्त जानकारीअनुसार, यो फिल्ममा पलले विपना थापाको छोराको भूमिका निर्वाह गर्नेछन्।

पल शाहले स्क्रिप्टले आफूलाई भावुक बनाएको र यस्तै गहिरो कथावस्तु भएको फिल्ममा काम गर्ने चाहना जागेको बताए। उनले भने, "मलाई फिल्मको स्क्रिप्ट एकदमै राम्रो लाग्यो। स्क्रिप्ट इमोसनल छ। साथै, फिल्ममा दिग्गज कलाकारहरूको टिम रहने भएकाले पनि म यो फिल्ममा काम गर्न तयार भएँ। मैले खेलेका धेरै फिल्ममध्ये यसको कथा साँच्चिकै बलियो छ।"

फिल्मको लेखन अभिमन्यु निरवीले गरेका हुन्। केही समयअघि सार्वजनिक गरिएको थिम पोस्टरमा आमाको आँखाबाट खसेको आँसु एक बालकले पुछिरहेको दृश्य देखाइएको छ, जसले आमासन्तानबीचको भावनात्मक सम्बन्धलाई गहिरो रूपमा चित्रण गर्छ।

‘आ बाट आमा’ फिल्मको छायांकन आगामी भदौबाट सुरु गरिनेछ भने फागुन १५ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हाललाई विपना र पल बाहेक अन्य कलाकारहरूको टुंगो लागिसकेको छैन।