निर्माण घोषणादेखि नै शीर्षकका कारण चर्चा र विवादमा परेको नेपाली फिल्म जनै हराएको बाहुन अब नयाँ नामसहित रिलिज हुने भएको छ। हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले फिल्मको नामलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले शीर्षक परिवर्तन गरेको हो। अब फिल्म जनै हराएको मान्छे: सम्बन्धका धागाहरु नामबाट आउने भएको छ।
नयाँ शीर्षकसहित सोमबार फिल्मबाट अभिनेता विजय बरालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा उनी रातो सट लगाएर दुईवटा झोला बोकेर गाउँबाट सहर निस्कँदै गरेको देखिन्छ। निधारमा रातो टीका लागेको र निन्याउरो अनुहारले उनको मनको पीडा– विशेष गरी परिवारसँग छुटिनु पर्दाको भावनालाई दर्शाउँछ। निर्माण पक्षले उनलाई ‘एपिक नेचुरल स्टार’ को उपाधिसमेत दिएको छ।
फिल्ममा विजय बरालसहित केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ। फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने मनिष राउत सह–निर्देशकको भूमिकामा छन्।
पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र बिमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन्।
फिल्मको लेखन भानुभक्त ढकालले गरेका छन्। नवीन गुरुङले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने कृष्ण परियार सिनेमेटोग्राफर हुन्। फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत समावेश छ।
फिल्म आगामी भदौ ६ गते (२०२५ सेप्टेम्बरको अन्त्यतिर)बाट प्रदर्शनमा आउने तयारीमा छ।