गत बैशाखको अन्त्यमा रिलिज भएको फिल्म ऊनको स्वीटर पछिदेखि नेपाली फिल्म बजार सुस्ताएको देखिएको छ। त्यसयता रिलिज भएका दुई ठूला बहुप्रतिक्षित फिल्महरू के घर के डेरा २ र नरसिंहा अवतारले पनि अपेक्षित व्यापार गर्न सकेनन्। यस्तो अवस्थामा अब सबैको नजर अहिले शुक्रबार (जेठ २४) बाट देशभर प्रदर्शनमा आएको फिल्म जन्ते बाख्रोमा गइरहेको छ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा लगायतको अभिनय रहेको छ। फिल्मको निर्माण सन्तोष गौतमले गरेका हुन् भने लेखक प्रदीप भारद्वाज हुन्।

फिल्मको ट्रेलर, गीत–संगीत र बलियो स्टारकास्टका कारण दर्शकमाझ अपेक्षा उच्च छ। काठमाडौंमा बुधबार आयोजित प्रिमियर शोमा फिल्मले सुखद् प्रतिक्रिया पाएको थियो, जसले सकारात्मक ‘वर्ड अफ माउथ’ बन्ने संकेत दिएको छ।

तर, जन्ते बाख्रोलाई बक्स अफिसमा सहज यात्रा हुने देखिँदैन। किनभने शुक्रबारबाटै बलिउडको चर्चित कमेडी फ्रेन्चाइज हाउसफुल ५ पनि भारतसहित नेपालमा रिलिज भएको छ। नेपालमा हाउसफुल सिरिजको राम्रै क्रेज रहेकोले यसले नेपाली फिल्मलाई असर गर्ने अनुमान गरिएको छ।

फिल्मले देशभरका हलमा राम्रो शो पाएको छ। मुलुकभर करिब १५० बढी शो पाइरहेको यो फिल्मलाई QFX मल्टिप्लेक्स चेनले मात्र ३७ शो दिएको छ। यद्यपि, राम्रो शो पाएको भए पनि अग्रिम बुकिङ र बिहानको शोमा अकुपेन्सी कमजोर देखिएको छ। यस्तो अवस्थामा फिल्मको मुख्य भर ‘वर्ड अफ माउथ’मै पर्न जान्छ।

यदि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सक्यो भने, व्यापारिक रूपमा यसले ठूलो छलाङ मार्ने सम्भावना छ।