नेपाली सिने क्षेत्रका चर्चित अभिनेता सविन श्रेष्ठ करिब तीन वर्षको अन्तरालपछि फिल्ममार्फत कमब्याक गर्न लागेका छन्। पछिल्लो पटक सन् २०२२ मा रिलिज भएको फिल्म ‘म’ मा देखिएका सविन अब नयाँ एक्सन-थ्रिलर लभस्टोरी फिल्म ‘कश्यप’ मा देखा पर्ने भएका छन्।

बिहीबार सार्वजनिक गरिएको क्यारेक्टर पोस्टरमार्फत फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा सविनलाई ‘एंग्री यंग म्यान’ को अवतारमा देखाइएको छ—लामो कपाल, बाक्लो दाह्री, रगतले लतपतिएको तरबार हातमा लिएर आक्रोशित मुद्रामा प्रस्तुत उनी एक्सन अवतारमा देखिएका छन्। उनको बलिष्ठ शरीर र दमदार लुक्सले फिल्ममा उनी हिरो हुन् वा खलनायक भन्ने अन्योल सिर्जना गरेको छ।

फिल्म 'कश्यप' को निर्देशन दिनेेश जी खड्का ले गर्दै छन्, जसको लागि यो निर्देशन क्षेत्रको पहिलो अनुभव हुनेछ। उनले फिल्म बनाउनुअघि लामो समय अनुसन्धान, लेखन र तयारीमा बिताएका छन्।

साउनको अन्तिमदेखि छायांकन सुरु हुने तयारीमा रहेको यस फिल्ममा हाललाई सविन श्रेष्ठ मात्र फाइनल कास्ट हुन् भने अन्य कलाकारहरू अझै तय गरिएको छैन।