वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको कथामा आधारित फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी रेबेल फिल्म्सले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक गरिएको पोस्टरमा भावनात्मक गहिराइ देखाइएको छ। फिल्मकी मुख्य अभिनेत्री नीता ढुंगानालाई पीडामा देख्न सकिन्छ। पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरूलाई प्रस्तुत गरिएको छ, जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर विदेशिएका नेपाली युवाशक्तिको प्रतिनिधित्व गर्छन्। पृष्ठभूमिमा खाडी मुलुकको सङ्केत गर्ने गगनचुम्बी भवनहरू पनि देख्न सकिन्छ।
फिल्मका निर्देशक विभोर पोखरेल हुन्, जसले दर्जनौं म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका छन्। निर्माता गगनलाल प्रधान दशकौँदेखि गीत–सङ्गीत निर्माणमा सक्रिय व्यक्तित्व हुन्। फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।
फिल्ममा नीता ढुंगानासँगै प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र बिमला गिरीको अभिनय रहेको छ।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी रहेको छ।