विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको तारागाउँ नेक्सटमा ‘एट द टिपिङ पोइन्ट: आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक विशेष कला प्रदर्शनी सुरु भएको छ। बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको उक्त प्रदर्शनी शुक्रबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो।

सगरमाथा नेक्सटको आयोजनामा र सर्राफ फाउन्डेसनको सहकार्यमा सम्पन्न यो प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्। उनका अनुसार प्रदर्शनीले प्रकृतिमा परेको मानवीय प्रभावलाई विभिन्न कलामाध्यमबाट उजागर गर्दै वातावरणीय चेतनाको सन्देश दिन खोजेको छ।

प्रदर्शनीमा ‘अर्थ इमर्जेन्स’ को सशक्त प्रस्तुति
प्रदर्शनीको विशेष आकर्षणका रूपमा नेपाली कलाकार सलिल सुवेदीको टोलीले 'अर्थ इमर्जेन्स' नामक लाइभ प्रस्तुति दिएका थिए। शरीरमा रातो माटो पोतेर गरिएको यो प्रदर्शनले मानव र माटोबीचको गहिरो सम्बन्धलाई चित्रण गर्छ। प्रस्तुतिमा उत्तर-उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ अवधारणालाई आधार बनाइएको छ।

जलवायु परिवर्तन र समकालीन कला
विश्व औसतभन्दा झन्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको सन्दर्भमा केन्द्रित यस प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै पृथ्वीप्रतिको सम्बन्धलाई समकालीन कलाको माध्यमबाट पुनः परिभाषित गर्ने प्रयास गरेको छ।

नेपाली र अन्तर्राष्ट्रिय १२ कलाकारको सहभागिता
प्रदर्शनीमा १२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूले वातावरणीय संकटबारे आफ्ना विविध दृष्टिकोण प्रस्तुत गरेका छन्। सहभागी कलाकारहरूमा हिमाली सिंह सोइन, उर्सुला बिमान्न, उत्सा हजारिका, मक्सुद अली मण्डल, समयुक्ता भण्डारी, अमित माछामासी, मोनिका उर्सिना जेगर, जोआना मोल, क्रिस जोर्डन, सौर्गङ्गा दर्शनधारी, रोबर्टिना शेबजानिकलगायतको नाम उल्लेखनीय छ।

ग्लोबल सोच, स्थानीय सन्दर्भ
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेमभित्र समेट्ने प्रयास गरेको छ। तीन महिनासम्म सञ्चालन हुने यो प्रदर्शनीले कला र वातावरणबीचको अन्तरसम्बन्धमा गहिरो संवाद सिर्जना गर्ने अपेक्षा गरिएको छ।