गत जेठ २३ गते (शुक्रबार)देखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘जन्ते बाख्रो’ ले दर्शकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। पहिलो दुई दिनमै हलहरूमा उल्लेखनीय चाप देखिएको र दर्शकको उत्साहजनक सहभागिताले निर्माण टिमलाई उत्साहित बनाएको छ।
सौगात मल्ल, आशिफ शाह, र गरिमा शर्माको मुख्य अभिनय रहेको यस सिनेमाले ‘वर्ड अफ माउथ’ अर्थात् दर्शक प्रतिक्रिया मार्फत राम्रो प्रचार पाइरहेको निर्माण पक्षको भनाइ छ। दर्शकहरूको भिड हेर्दा फिल्मले वीकडेजमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
हलमा दर्शकहरूसँग साक्षात्कार गर्न पुगेका कलाकारहरूसँग फोटो खिच्ने होड नै चलेको थियो। अधिकांश दर्शकले कलाकारहरूको सशक्त अभिनय, निर्देशक सिमोस सुनुवारको निर्देशनशैली र निर्माता सन्तोष गौतमको इमान्दार प्रयासको प्रशंसा गरेका छन्।
फिल्मले हराउँदै गएको गाउँको जन्ती परम्परा, टपरी-दुना संस्कार, र ग्रामीण संस्कृतिलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको अभिनय रहेको छ।
सिनेमामा हरि हुमागाईं र उत्तम हुमागाईंको छायाङ्कन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म टिफल्क फिल्म्सद्वारा वितरण गरिएको हो भने जी टु वान डिजिटलले डिजिटल अधिकार खरिद गरेको छ।