आगामी असोज ३ गते (संविधान दिवस) देखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’सार्वजनिक गरिएको छ। मारुनी भाकामा तयार गरिएको यस गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ, भने शब्द तथा संगीत स्वयं गायक सिवाकोटीले तयार पारेका हुन्। यो गीत गायिका अस्मिता अधिकारीको पहिलो मारुनी शैलीको गीत समेत हो।
भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू, साथै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङ नाचगानमा देखिन्छन्। गीतको कथावस्तु मेलामा भेट भएका सोल्टी–सोल्टिनीबीचको प्रेम सम्बन्ध वरिपरि घुमेको छ। भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको चलचित्रमा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
चलचित्रले जातीय भेदभावविरुद्ध आवाज उठाउँदै दुई फरक समुदायका पात्रबीचको प्रेमकथा प्रस्तुत गर्ने उद्देश्य लिएको छ। चलचित्रका अन्य गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ भने छायांकन सुशन प्रजापतिले गरेका हुन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन्।