चलचित्र ‘मिरमिरे’ मा अभिनेता तथा गायक प्रकाश सपूत अनुबन्ध भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यस सिनेमामा अनुबन्ध गरिएको हो। यसमार्फत दयाहाङ र प्रकाश पहिलोपटक एउटै पर्दामा देखिनेछन्।

निर्देशक यम शेर्पाले अहिलेका चर्चित र अभिनयमा दख्खल भएका कलाकारहरूसँग सहकार्यको तयारी भइरहेको जनाएका छन्। “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ,” निर्देशक शेर्पाले भने, “बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ।”

हालसम्म अन्य कलाकारको टुंगो लागेको छैन भने प्रकाश सपूतले अभिनय मात्र गर्ने कि संगीतमा पनि संलग्न हुने भन्नेबारे अझै खुलाइएको छैन। यम शेर्पाले उक्त विषयमा पछि स्पष्ट पारिने जानकारी दिएका छन्।

यो चलचित्र निर्देशक यम शेर्पाको दोस्रो निर्देशन हो। यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए। ‘मिरमिरे’ को कथा पनि यम स्वयंले लेखेका हुन्। उनले ‘मिरमिरे’ मा प्राविधिक पक्ष र कलाकारहरूको बलियो संयोजन रहने विश्वास व्यक्त गरेका छन्।

चलचित्रमा आबद्ध भएपछि अभिनेता प्रकाश सपूतले खुशी व्यक्त गर्दै आफ्नो भूमिकालाई विशेष र महत्वपूर्ण रहेको बताए। उनले ‘मिरमिरे’ बाट आफू नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रकट गरे।