निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘जहाजैमा’ को औपचारिक घोषणा गरिएको छ। केही दिनअघि जापान पुगेकी निर्देशक चौलागाईंले यूएनए प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण गर्ने सम्झौता गरेकी थिइन्।
फिल्मको सार्वजनिक थीम पोष्टरमा एक युवक जहाज चढ्न विमानस्थलमा लगेज बोकेर हिँडिरहेको दृश्य देखाइएको छ, जसले जापान जाने सपना बोकेका नेपाली युवाहरुको कथा प्रस्तुत गर्ने संकेत गर्छ। ‘जहाजैमा’ले वैदेशिक सपनाको पछाडि लुकेको वास्तविकता र संघर्षको कथा बोर्नेछ।
फिल्मको निर्माण उज्ज्वल गुरागाईंले गर्दैछन् भने छायांकनको जिम्मेवारी अनुभवी छायाँकार पुरुषोत्तम प्रधानले सम्हाल्ने तय भइसकेको छ। कलाकारहरुको औपचारिक नामावली भने हालसम्म सार्वजनिक गरिएको छैन।
फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिनेछ भने एक महिना लामो छायांकन जापानमै हुने जानकारी दिइएको छ। आगामी भदौ महिनाबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ। फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ।
फिल्म पिताम्बर बाट निर्देशनको क्षेत्रमा चर्चा कमाएकी कृषा चौलागाईं अहिले जहाजैमा को प्री–प्रोडक्सन मा व्यस्त छिन्। उनले ‘जहाजैमा’पछि बहुप्रतीक्षित सिक्वेल ‘पिताम्बर २’ को पनि घोषणा गरिसकेकी छन्।
जापानमा नेपाली फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब फिल्म निर्माणतर्फ पनि पाइला चाल्दै यूएनए प्रोडक्सनको ब्यानरमा ‘जहाजैमा’ निर्माण गर्न लागेको हो। फिल्ममा नेपाल र जापानका कलाकारहरुको सहभागिता रहनेछ।