चर्चित भारतीय अभिनेता प्रदीप रावत फेरि एकपटक नेपाली फिल्ममा देखिन लागेका छन्। बलिउड सुपरहिट फिल्म ‘गजनी’ मा खलनायकको भूमिकामा चर्चामा आएका रावत अब निर्देशक चन्द्र पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनय गर्दैछन्।

निर्देशक पन्तका अनुसार, फिल्ममा प्रदीपले अभिनेता पल शाहका बुबाको भूमिका निर्वाह गर्नेछन्। "उहाँ नितान्त नेपाली परिवेशको पात्रमा देखिनुहुन्छ," पन्तले बताए, "फिल्मको कथा र चरित्र मन परेपछि उहाँले काम गर्न स्वीकृति दिनुभयो। उहाँ फिल्मको कथा र भूमिकाबाट निकै उत्साहित हुनुहुन्छ।"

प्रदीप रावत यसअघि पनि चन्द्र पन्तकै निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’ नामक फिल्ममार्फत नेपाली सिनेमामा डेब्यु गरिसकेका छन्। साथै, पन्तकै निर्देशनमा बनेको भोजपुरी फिल्म ‘माही’ मा पनि उनी अभिनय गरिसकेका छन्।

फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री विपना थापा मुख्य भूमिकामा छिन्। उनी फिल्ममा आमाको भूमिकामा प्रस्तुत हुनेछिन् भने अभिनेता पल शाह उनका छोरा बन्नेछन्। अभिमन्यू निरवीले फिल्मका संवाद लेखेका छन्।

फिल्मको छायांकन भदौ अन्तिमबाट सुरु हुने तयारीमा रहेको निर्माण टिमले जनाएको छ। प्रदीप रावत छायांकनका लागि नेपाल आउन लागेका छन् र उनले नेपाली भाषामै संवाद बोल्ने तयारी गरेका छन्।

हिन्दी, तमिल, तेलुगु, मलयालम लगायत विभिन्न भाषाका फिल्ममा अभिनय गरिसकेका रावतलाई दर्शकमाझ विशेष रूपमा ‘गजनी’ बाट पहिचान बनाएको हो। उनले अल्लू अर्जुन, प्रभास लगायतका दक्षिण भारतीय सुपरस्टारहरूसँग पनि सहकार्य गरिसकेका छन्।

‘आ बाट आमा’ आमाछोराबीचको भावनात्मक सम्बन्धमा आधारित फिल्म हो र यसको प्रदर्शन मिति आगामी फागुन १५ गते तोकिएको छ।