सुदूरपश्चिम प्रदेशमा पहिलोपटक 'सिनेमा संवाद' कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसिएट्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनका पक्षमा विशेष जोड दिइएको थियो।
कार्यक्रमको उद्घाटन डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गरेका थिए। उनले यो प्रकारको कार्यक्रम सहर केन्द्रित नभई ग्रामीण, धार्मिक र पर्यटकीय क्षेत्रहरूमा लैजानु पर्ने आवश्यकता औंल्याउँदै सुदूरपश्चिमको मौलिकता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन सिनेमाले ठूलो भूमिका खेल्न सक्ने बताए। उनले कलाकारसहित आफ्नो पालिकामा पनि आगामी संवाद कार्यक्रम आयोजना गर्न निम्तो दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव वैकुण्ठराज पराजुलीले सिनेमा पर्यटन प्रवर्द्धनको सशक्त माध्यम भएकाले सुदूरपश्चिमलाई नेपाली चलचित्र छायांकनको ‘हब’ बनाउन प्रदेश तथा स्थानीय सरकारको पहल आवश्यक रहेको बताए।
चार सत्रमा गहिरो छलफल
कार्यक्रम चारवटा सत्रमा सञ्चालन गरिएको थियो, जसमा विविध विषयमा बहस र संवाद भयो।
-
पहिलो सत्र – “नेपाली सिनेमामा नवीन पुस्ता र दृष्टिकोण”
नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ता थिए। प्रविधिको विकास, अवसर र चुनौतीका विषयमा छलफल गरिएको थियो। सहजीकरण निलम चन्दले गरेकी थिइन्। -
दोस्रो सत्र – “सिनेमामा सुदूरपश्चिमको इतिहास र संस्कृति”
साहित्यकार हेमन्त विवश, निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का वक्ता थिए। निर्देशक नेपालले सुदूरपश्चिममै छायांकन हुने नयाँ चलचित्रको घोषणा समेत गरे। सहजीकरण पत्रकार सीताराम ओझाले गरेका थिए। -
तेस्रो सत्र – “डोटेली भाषा, सिनेमा र संगीत”
देउडा गीत–संगीतको प्रयोग र मौलिकता विषयमा गीतकार हर्क साउँद, गायक नरेन्द्रराज रेग्मी र पत्रकार/निर्माता उमिद वागचनले विचार राखे। सहजीकरण पनि ओझाले गरे। -
चौथो सत्र – “सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाको भूमिका”
कलाकार सरस्वती खड्का, 'गौरी' फिल्म निर्माता खड्गबहादुर मल्ल, र अभिनेता प्रेम चौधरी वक्ता थिए। दोधारा चाँदनी, खप्तड, अपि र सैपाल हिमालजस्ता स्थलहरू सिनेमामा समेट्दा पर्यटनमा पर्ने प्रभावबारे छलफल गरियो। सहजीकरण पत्रकार टेकेन्द्र देउवाले गरे।
संघ र संस्थाको प्रतिबद्धता
आयोजक चलचित्र पत्रकार संघ नेपाल कैलालीका अध्यक्ष पुष्पराज जोशी र जेडी एसोसिएट्सका प्रमुख दिनेश भण्डारीले सिनेमा संवाद कार्यक्रम सफल र फलदायी भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले यस कार्यक्रमले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे।