'प्रेमगीत’ जस्तो सफल चलचित्र पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच फेरि एकपटक सहकार्य हुन लागेको छ। गत वर्ष सुदर्शनले प्रदीप खड्कासँग आफ्नो नयाँ चलचित्रका लागि लिखित सम्झौता गरेका थिए, तर त्यसबेला फिल्मको नाम सार्वजनिक गरिएको थिएन।

हालै सुदर्शन थापाले चलचित्र विकास बोर्डमा ‘शुभ विवाह’ शीर्षकमा फिल्म दर्ता गराएका छन्। सो दर्तामा प्रदीप खड्काको नाम प्रमुख कलाकारको रूपमा उल्लेख गरिएको छ, जसले उनी नै मुख्य भूमिकामा देखिने प्रष्ट पार्छ।

तर, ‘शुभ विवाह’ शीर्षक प्रयोग गरेर यसअघि पनि तीन फरक निर्देशकले फिल्म बनाउने प्रयास गरिसकेका थिए।

  • सबैभन्दा पहिला, निर्देशक हेमराज बीसी ले सन् २०७५ तिर प्रदीप खड्कालाई नै मुख्य भूमिकामा अनुबन्ध गरी अभिनेत्री साम्राज्ञी आरएल शाह लाई जोडी बनाउने योजना बनाएका थिए। तर, एक मुख्य निर्माता हात झिकेपछि परियोजना रोकिएको थियो।

  • त्यसपछि, निर्देशक सुरेन्द्र पौडेल ले पनि ‘शुभ विवाह’ बनाउने योजना बनाएका थिए। यसमा पनि प्रदीपको सहभागिता लगभग तय भइसकेको थियो, तर उनले पनि काम अघि बढाउन सकेनन्।

  • तेस्रो प्रयासमा निर्देशक आसिफ शाह यस शीर्षकमा फिल्म बनाउन तम्सिएका थिए। यसपटक निश्चल बस्नेत र स्वस्तिमा खड्का लाई मुख्य भूमिकामा राख्ने तयारी थियो, तर त्यो योजना पनि अधुरै रह्यो।

अब भने निर्देशक सुदर्शन थापाले चौथो प्रयासस्वरूप यसै शीर्षकमा फिल्म बनाउन लागेका हुन्।

कथावस्तु र अभिनेत्रीको टुंगो छैन

‘शुभ विवाह’ शीर्षकले नै संकेत गर्छ कि फिल्म विवाह केन्द्रित कथामा आधारित हुनेछ। तर, प्रदीप खड्काको जोडीको रूपमा को अभिनेत्री हुने भन्ने विषयमा भने अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

सुदर्शनले प्रदीपसँग सम्झौता गरेको बेलामा अभिनेत्री पूजा शर्मा को नाम चर्चामा थियो। तर, ‘रावायण’ फिल्मको असफलता र त्यसपछिको सम्बन्ध बिग्रिएपछि अहिले सुदर्शन र पूजाबीच सहकार्यको सम्भावना निकै कम देखिन्छ। स्रोतहरूका अनुसार उनीहरूबीच हाल “पानी बाराबार”को अवस्था छ।