आगामी साउन १६ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म रियाल रिङ्गेटको ओएसटी गीत ‘जिन्दगी’ सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको यस गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत, र केतन क्षेत्रीको स्वर रहेको छ। गीतको एरेन्जमेन्ट किरण तुलाधरले गरेका हुन्।
गीतको भिडियोमा रोजगारीका लागि विदेशिएका नेपाली युवाहरूले भोग्नुपरेको बर्बर यथार्थ, पीडा, र उनीहरूको अनुपस्थितिमा घरपरिवारले सहनु परेको मानसिक संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा कवि नाथन रायनले विदेशमा मजदुरी गर्ने नेपालीहरूको भावना समेटिएको मार्मिक कविता वाचन गरे भने गायक केतन क्षेत्रीले प्रत्यक्ष गायन प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे।
विभोर पोखरेलको निर्देशनमा बनेको फिल्म रियाल रिङ्गेटको निर्माण गगनलाल प्रधानले गरेका हुन्। फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, र विमला गिरीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। यसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, रामचन्द्र काफ्ले, किरण तुलाधर, र चन्दन ध्वज केसीको संगीत तथा राजीव समरको कोरियोग्राफी समावेश छ।
फिल्मको नाम रियाल रिङ्गेट कतार र साउदी अरबको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’को मिश्रणबाट राखिएको हो, जसले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ। फिल्मले विदेशमा पसिना बगाउँदै सपना बोकेका नेपालीहरूको जीवन कथा दर्शाउने उद्देश्य राखेको छ।