माग्ने बुढा अब नयाँ फिल्म ‘जहाजैमा’ मा अनुबन्धित भएका छन्। मंगलबार फिल्मका निर्माता उज्ज्वल गुरागाईं र केदारबीच लिखित सम्झौता भएको हो। फिल्मको निर्देशन *‘पिताम्बर’*की निर्देशक कृषा चौलागाईंले गर्दैछिन्। फिल्ममा केदारले मुख्य भूमिका निभाउने जनाइएको छ।

‘माग्ने राजा’ फिल्ममा ६१ लाख पारिश्रमिक लिएर सर्वाधिक महँगा कलाकारको पहिचान बनाएका केदारले *‘जहाजैमा’*का लागि कति पारिश्रमिक लिएका हुन् भन्ने कुरा भने गोप्य राखिएको छ।

फिल्ममा फिलिपिनी मूलकी जापानी अभिनेत्री रजेल इचिमिया पनि अनुबन्धित भइसकेकी छन्। ‘बी माई गेस्ट’ र ‘बी माई बेबी’ जस्ता जापानी फिल्महरूमा अभिनय गरिसकेकी रजेलले ‘जहाजैमा’ बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन्। केदार र रजेलबाहेक अन्य कलाकारहरूको छनोट भने बाँकी नै छ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘जहाजैमा’ ले नेपाल–जापानबीचको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा बोकेको छ। फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ भने सन् २०२६ मा फिल्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। आगामी भदौ महिनाको अन्त्यबाट छायांकन सुरु गरिने तयारी गरिएको छ।