जात्रा’ फिल्म श्रृंखलाको निर्माण कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन्। निर्माण पक्षले मंगलबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै स्वस्तिमाको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो।

पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको रूपमा देखिएकी छन्। तर उनी विवाहित महिला जस्तो न देखिने गरी प्रस्तुत छिन् – न सिउँदोमा सिन्दूर, न त गलामा मंगलसूत्र। उनी एक ढोकाबाट बाहिर हेरिरहेकी अवस्थामा चित्रित गरिएको छ, जहाँ उनको श्रृंगार, हाउभाउ र पहिरनले उनलाई यौनकर्मीको भूमिकामा प्रस्तुत गर्न लागिएको संकेत गर्छ। यद्यपि निर्माण पक्षले यसबारेमा स्पष्ट जानकारी दिएको छैन।

निर्माण टिमले फर्स्टलुकसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ – ‘लालीबजार’ आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउनेछ।

फिल्मको लेखन तथा निर्देशन यम थापाले गर्दैछन् भने निर्माणमा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेस खत्री संलग्न छन्। प्रदीप भट्टराईफिल्मका कार्यकारी निर्माता हुन्। फिल्मको छायांकन दशैंपछिबाट सुरु हुने बताइएको छ।