एकता पौडेलको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’ को प्रदर्शन मिति घोषणा गरिएको छ।फिल्म आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइएको हो।

उक्त भिडियोमा स्वर्गीय निर्देशक शिव रेग्मी (मामा) प्रति फिल्म समर्पित गरिएको उल्लेख छ। निर्देशक एकता पौडेल रेग्मीकी भान्जी हुन्। भिडियोमा कलाकारहरुको परिचयसहित आकर्षक रूपमा डिजाइन गरिएको शीर्षक समावेश गरिएको छ भने बाँसुरी (बाजा) लाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ, जसले फिल्मको धार्मिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल छन्। फिल्ममा आलोक शुक्ला को छायांकन, समीर-हिमाल, वसन्त सापकोटा तथा एलिस कार्की को संगीत, लोकेश बज्राचार्य को सम्पादन, र सुनिल क्षेत्री तथा निर्देशक पौडेल को कोरियोग्राफी रहेको छ। विशेष कुरा के छ भने, फिल्ममा स्वर्गीय निर्देशक शिव रेग्मीले लेखेको एउटा गीत समेत समावेश गरिएको छ।

न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी तथा आमसंचारमा स्नातक गरेकी एकता पौडेलले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। केही छोटा फिल्म निर्देशन गरेपछि उनले ‘हर्ष’ बाट निर्देशनमा डेब्यु गरेकी हुन्।