साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको बहुप्रतिक्षित नेपाली फिल्म ‘द ब्लू लाइट’ को छायांकन सम्पन्न भएको छ। बिहीबार अन्तिम दृश्य खिच्दै फिल्मले जम्मा २५ दिनमा छायांकन प्रक्रिया सम्पन्न गरेको हो। फिल्मको छायांकन गत जेठ २२ गतेदेखि सुरु गरिएको थियो र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा गरिएको थियो।
फिल्मको निर्देशन बलिराम चौहानले गरेका छन्, जसको यो निर्देशनमा डेब्यु हो। उनी यसअघि चर्चित फिल्म *‘बलिदान’*का लेखक र मुख्य सहायक निर्देशकको रूपमा परिचित थिए। चौहानले आफूले भन्न खोजेको कथा पर्दामा उतार्न सफल भएको अनुभव बाँड्दै कलाकारहरूको उत्कृष्ट अभिनयले कथालाई जीवन्त बनाएको बताएका छन्।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। साथै, बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्माको पनि फिल्ममा अभिनय रहनेछ।
फिल्ममा रमन ग्रे सह-निर्माताको रूपमा, भने नरेन्द्र मैनाली र बेनिशा हमाल कार्यकारी निर्माता रहेका छन्।
छायांकन सम्पन्न भएपछि अभिनेत्री बेनिशा हमालले सामाजिक सञ्जालमार्फत एक पोस्ट साझा गर्दै आफूले निभाएको चरित्र सधैंभरि आफ्नो साथमा रहने बताएकी छन्। उनले लेखेकी छन्, "यो त्यस्तो प्रकारको टोली हो, जुन हरेक कलाकारले चाहन्छन्। सबैलाई थाहा थियो कि उनीहरू के गर्दैछन्। अनुशासन, समर्पण र जोश सबै ठीक ठाउँमा थियो। यो फिल्म र मैले खेल्न पाएको चरित्र, सधैंभरि मेरो साथमा रहनेछ।"