गायक रामकृष्ण ढकाल निर्माता बनेर प्रस्तुत हुन लागेका नयाँ नेपाली चलचित्र ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्। शुक्रबार एक कार्यक्रमबीच उनीहरूसँग औपचारिक कागजी सम्झौता गरिएको हो।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले तयार पारेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन्। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन्।
छायाङ्कन निर्देशक महेश पौडेल रहनेछन् भने सम्पादनको जिम्मेवारी रोमी तण्डुकारले सम्हाल्नेछन्। रंग संयोजन कृष्ण भण्डारीले गर्नेछन्। चलचित्रका गीतहरू राजेन्द्र थापाले लेख्ने छन् भने संगीतमा राजनराज सिवाकोटीले योगदान दिनेछन्। पोस्टर डिजाइन विजय बस्यालले गर्नेछन्।
निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ एक पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ। यद्यपि अहिले नै विजय बराल र वर्षा राउतले निभाउने भूमिकाबारे विस्तृत जानकारी दिन नसकिने उनको भनाइ छ।
विशेष कुरा के छ भने, चलचित्रप्रति गहिरो प्रतिबद्धता जनाउँदै विजय बराल र वर्षा राउतले आगामी तीन महिना अन्य कुनै चलचित्रमा काम नगर्ने निर्णय लिएका छन्। उनीहरूले यो समय आफ्ना पात्रको गहिराइमा जान र चरित्र निर्माणमा खर्चिनेछन्।
कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको छायाङ्कन भदौको पहिलो हप्तादेखि सुरु हुनेछ र लगभग ४० दिनसम्म चल्ने तालिका बनाइएको छ। चलचित्र यही वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए।
चलचित्रका निर्माता रामकृष्ण ढकाल नेपाली संगीत क्षेत्रका एक मूर्धन्य गायक हुन्, जसले हालसम्म ४ हजारभन्दा बढी गीतहरूमा स्वर दिइसकेका छन्।