प्राइड मन्थ २०२५ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा आयोजित ‘निलम्स अवार्ड २०२५’ राजधानी काठमाडौंमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। ट्रान्स एक्टिभिस्ट, मेकअप आर्टिस्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा अमूल्य योगदान दिने सातजना व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
यस वर्ष सम्मानित हुनेहरूमा गायकद्वय नट्टू शाह र पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर सुमन श्रेष्ठ (डल्ली ममी), मेकअप आर्टिस्ट तथा डान्सर उमिशा श्रेष्ठ, लोकगायक श्याम राना र मेकअप आर्टिस्ट अनिष तामाङ रहेका छन्।
त्यसैगरी *‘युथ अचिभमेन्ट अवार्ड’*बाट अनु शाही ठकुरी, दिनुप मगर र एन्जल सम्मानित भए। २०२३ देखि प्रदान गर्न थालिएको ‘महामहिम अवार्ड’ यस वर्ष सुष्मा लामा र केशाङ युडोनलाई प्रदान गरिएको थियो।
कार्यक्रमकी आयोजक तथा निर्देशक निलम पौडेलले अल्पसंख्यक समुदायले भोगेका भेदभाव र संघर्षलाई उजागर गर्दै समुदायको लचिलोपन, साहस र अटल मनोबललाई सम्मान गर्न निलम्स अवार्ड आयोजना गरिएको बताइन्।
अवार्ड कार्यक्रममा प्रमुख अतिथि ब्याङ्कर अनिल केशरी शाह थिए। त्यसैगरी अभिनेत्री श्वेता खड्का, ओशिमा बानु, डा. सुमी मल्ल, मिस युनिभर्स सम्पदा घिमिरे, संगीता पुरी, संजय शर्मा, पूर्व मिस्टर नेपाल तथा डा. सन्तोष उपाध्याय, गायक सपन श्रेष्ठ र सञ्चारकर्मी विना श्रेष्ठजस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा तेस्रोलिंगी कलाकार अनुपम श्रेष्ठ ‘हटी नटी’ले अभिनेत्री श्वेता खड्कालाई सम्मान गर्दै उनका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रम निल हिरा समाज (ब्लु डाईमण्ड सोसाइटी), फ्रुट जेम, परी कस्मेटिक र स्टेला मेकअप ब्रान्डको सहयोगमा सम्पन्न भएको थियो।