अभिनेता पल शाह अब निर्माता बनेका छन्। विकास सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘यानीमाया’ मार्फत पल शाहले निर्माणमा डेब्यु गर्न लागेका हुन्। ‘Songs of My Grandmother’ भन्ने ट्यागलाइन राखिएको यो फिल्म पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ, जसमा उनलाई निर्माता चन्द्रज्योति आलेले साथ दिएकी छन्।

फिल्ममा मुख्य अभिनेत्रीका रूपमा अञ्जना पुन मगर अनुबन्धित भएकी छिन्। उनी मोडलिङ क्षेत्रको परिचित नाम हुन्, जसले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। ‘यानीमाया’बाट उनले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्। उनलाई निर्माण टिमले अडिसनमार्फत छनोट गरेको हो।

अञ्जनाले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ का उपाधि जितेकी छिन्। त्यस्तै, ‘मिस नेपाल २०२४’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड जितेकी थिइन्। ‘मायालाई पानको पात’ बोलको गीतमा अभिनय गरेपछि उनी दर्शकमाझ चर्चित बनेकी थिइन्। उनले यसअघि पल शाहसँग केही म्युजिक भिडियोमा पनि सहकार्य गरिसकेकी छन्।

निर्देशक सुवेदीका अनुसार ‘यानीमाया’ फिल्मले अन्तरपुस्ता द्वन्द्वआधुनिकता र परम्पराको दोलनसहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेट्नेछ। फिल्मको छायांकन आगामी साउन महिनाबाट बागलुङको ढोरपाटन क्षेत्रबाट सुरु हुने छ भने दोस्रो चरणको छायांकन हङकङमा हुने निर्माण पक्षको योजना छ।

हाललाई पल शाह र अञ्जना पुन मगर मात्र फिल्मको कलाकारको रूपमा सार्वजनिक गरिएको छ। बाँकी कलाकार र प्राविधिक समूहको बारेमा चाँडै जानकारी गराइने निर्माण टिमले जनाएको छ।