कुनै समय नेपाली फिल्म क्षेत्रमा बलियो उपस्थिति बनाएका अभिनेता जीवन लुइँटेल अब एक दशकपछि पुनः अभिनयमा फर्किन लागेका छन्। तर, उनको यो पुनरागमन फिल्म होइन, रंगमञ्चमार्फत् हुन लागेको हो।

लगातार फिल्म असफलतापछि अमेरिका बसोबास गर्दै आएका जीवन अब पुस्तक 'शिरीषको फूल' मा आधारित नाटकमार्फत अभिनयमा पुनः सक्रिय हुन लागेका हुन्। पत्रिका घिमिरेको निर्देशनमा कान्तिपुर थिएटरले आगामी साउन १ गतेदेखि मञ्चन गर्न लागेको यस नाटकमा जीवन **मुख्य पात्र 'सुयोगवीर'**को भूमिकामा देखिनेछन्।

करीब २५ भन्दा बढी फिल्ममा काम गरिसकेका जीवनको यो पहिलो नाटक हुनेछ। नाटकको तयारीका लागि उनी आगामी साता नेपाल आउन लागेका छन्।

कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार, “हामीलाई साहित्यमा पकड भएको र अभिनयमा गहिरो अनुभूति ल्याउन सक्ने उमेर र अनुभव अनुसारको पात्र चाहिएको थियो। जीवनजी त्यस भूमिकाका लागि उपयुक्त लागेपछि हामीले प्रस्ताव राख्यौं र उहाँले सहर्ष स्वीकार गर्नुभयो। उहाँको पुनरागमनका लागि रंगमञ्च अत्यन्तै उपयुक्त माध्यम हो।”

यसअघि अभिनेत्री रेखा थापाले ‘मीरा’ नाटकमार्फत रंगमञ्चमा डेब्यु गरेकी थिइन्, जुन निकै चर्चित भयो। अब ‘शिरीषको फूल’ मार्फत जीवन लुइँटेलको रंगमञ्चमा पाइला राख्ने तयारीले पनि नेपाली रंगमञ्चमा नयाँ उत्साह थप्ने निश्चित देखिन्छ।