भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ। झन्डै २ मिनेट लामो टिजर हास्यरसले भरिएको छ र यसको केन्द्रमा छन् चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, जसले फिल्ममा दुई फरक गेटअपमा अभिनय गरेका छन्।

टिजरको सुरुमा सेतो घोडा चढेर गाउँलेलाई पैसा बाँडिरहेको माग्ने बुढा देखिन्छन्। त्यसपछि उनी श्रीपेच खोज्दै काठमाडौं पुगेको र बाइक चढ्दै ऐस-आराम जीवन बिताएको दृश्य प्रस्तुत गरिएको छ। उनी पैसामाथि सुतेको, युवतीहरूसँग मस्ती गरेको जस्ता दृश्यहरूमार्फत एउटा सामान्य व्यक्तिले अकस्मात् धन पाएपछि कसरी आफूलाई राजा ठान्छ भन्ने कथा झल्काइएको छ।

टिजरमा केदार घिमिरे पूरै हाबी छन् भने विल्सन विक्रम राई र वर्षा सिवाकोटीलाई पनि स्थान दिइएको छ। तर, २ मिनेटको टिजरमा वर्षा सिवाकोटीको उपस्थिति करिब १० सेकेण्डमा सीमित रहेकाले फिल्ममा उनको भूमिकालाई लिएर केही संशय पनि उत्पन्न भएको छ।

टिजरको सबैभन्दा बलियो पक्ष संवाद देखिन्छ। केदारले बोलेका रमाइला र व्यंग्यात्मक संवादहरूले दर्शकलाई हसाउँछन् र फिल्मप्रति उत्सुकता बढाउने प्रभावशाली टोन बनाउँछन्।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको यस फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राईसँगै शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी (मिस पवी) लगायत कलाकारको अभिनय रहेको छ।

फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको हो। मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेका छन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकनसामीप्यराज तिमल्सेनाको लेखन र मित्र गुरुङको सम्पादन रहेको छ।