टेलिसिरियलमा पाएको सफलताबाट प्रेरित हुँदै हास्य कलाकारहरु अब फिल्म निर्माणमा होमिन थालेका छन्। महजोडी, दीपकराज गिरी, शिवहरी पौडेल, कुमार कट्टेलपछि अब अर्का चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ पनि निर्देशनमा डेब्यु गर्न लागेका छन्।

मरिचमानले निर्देशन गर्न लागेको फिल्मको नाम ‘गोबर गणेश’ हो। मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको प्रदर्शन मिति माघ १ गते (माघे संक्रान्ति) तय गरिएको घोषणा गरेका छन्। यसअघि फागुन १ मा आउने भनिएको फिल्म एक महिना अघि सारिएको हो।

‘गोबर गणेश’ बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण हुने भएको छ, जसको छायांकन भदौ महिनाबाट सुरु हुनेछ। फिल्म हास्यप्रधान हुने र दर्शकलाई हँसाउने उद्देश्यले तयार पारिने निर्देशक श्रेष्ठले बताएका छन्।

फिल्ममा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानियाँ, माओत्से गुरुङ, पुजन घिमिरे ‘पुकु’ र सीतादेवी तिमल्सेना मुख्य भूमिकामा देखिनेछन्। सीतादेवी चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की धर्मपत्नी हुन् भने पुजन ‘हल्का रमाइलो’ टेलिसिरियलमार्फत चिनिएकी कलाकार हुन्। अन्य कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

‘मेरी बास्सै’ टेलिसिरियलमार्फत बल्छी धुर्बेको भूमिकामा चर्चामा आएका मरिचमान पछिल्ला दिनमा ‘हल्का रमाइलो’ सिरियलमा निर्देशन र अभिनय दुबैमा सक्रिय छन्। यद्यपि, ‘गोबर गणेश’मा उनी स्वयं अभिनय गर्ने छन् या छैनन् भन्ने कुरा भने खुलाइएको छैन।