'दयारानी' पछि निर्देशक माओत्से गुरुङ र अभिनेता दयाहाङ राई दोस्रोपटक एउटै सिनेमामा सहकार्य गर्न लागेका छन्। गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो नेपाली फिचर फिल्म पेन्सनपट्टा मा दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका हुन्।

निर्देशक गुरुङका अनुसार, यो सहकार्य पहिलो फिल्मभन्दा अझ परिस्कृत हुनेछ। सिनेमाको शिर्षकले भूतपूर्व लाहुरेको कथा दिने झल्को दिए पनि फिल्मको मूल कथा लोभी व्यक्तिले कसरी दानी बन्छ भन्ने हो। फिल्म पेन्सनपट्टा कार्तिक महिनाको तेस्रो साताबाट फ्लोरमा जानेछ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने यस सिनेमाको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा र आसपासमा गरिने बताइएको छ। सिनेमाका कास्टिङ डिरेक्टर सुरज तमु हुन् भने छायांकनको जिम्मेवारी छायाँकार सुशन प्रजापतिले लिनेछन्। अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले जानकारी दिएका छन्।

गुरुङको निर्देशनमा बनेको पहिलो नेपाली फिचर फिल्म दयारानी बक्सअफिसमा हिट भएको थियो। गुरुङ भाषाका फिल्मबाट निर्देशन यात्रा सुरु गरेका माओत्से गुरुङ पछिल्लो समय नेपाली मुख्यधारको सिनेमामा समेत सक्रिय हुँदै आएका छन्। उनी निर्देशकसँगै लेखक, अभिनेता र निर्माता समेत हुन्।