हरितालिका तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंसहित देशका आठवटा सहरबाट एकैसाथ दुईवटा पोस्टर सार्वजनिक गरिएको हो। दर्शकको ध्यान आकर्षण गर्न फरक तरिका अपनाइएको निर्माण पक्षले जानकारी दिएको छ।
दुईमध्ये एक पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर देखिएका छन्। मिरुनालाई मगर समुदायको परम्परागत बेहुली पहिरनमा प्रस्तुत गरिएको छ भने केकी र मिरुनाले समातेको डोरीलाई बीचमा विजयले समातेका छन्। पोस्टरमा प्रयोग गरिएको निलो र रातो रंगले सम्बन्धको उल्झन र पात्रहरूको मनोविज्ञान चित्रण गरेको छ।
अर्को पोस्टरमा भने केकी अधिकारी मात्र देखिएकी छन्। साडीमा सजिएकी उनी निराश मुद्रामा कठपुतलीझैँ दुई हात डोरीले बाँधिएको अवस्थामा देखिन्छिन्। यसले उनको पात्र कसैको नियन्त्रणमा रहेको बुझाउँछ। पोस्टरमा लेखिएको छ, “जति पीडा भए पनि, कहिले ऐया नभन्ने मेरी दिदी।” जसबाट उनी फिल्ममा दिदीको भूमिकामा रहेको संकेत हुन्छ।
हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यो फिल्ममा विजय, केकी, मिरुना लगायत गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय रहेको छ। फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहेका छन्।
पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्। फिल्मको लेखन भानुभक्त ढकालले गरेका हुन् भने डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफी कृष्ण परियारले गरेका हुन्।