सर्वकालीन ब्लकबस्टर फिल्म *‘पूर्ण बहादुरको सारङ्गी’*का निर्देशक सरोज पौडेलले निर्देशन गरेको नयाँ फिल्म *‘कोशेढुंगा’*को छायांकन सम्पन्न भएको छ। मकवानपुरको पर्यटकीय स्थल चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार फिल्मले ५१ दिनमा ‘प्याकअप’ गरेको हो। फिल्मको प्रमुख छायांकन भने केही साताअघि नै पूरा भइसकेको थियो।

छायांकनको सुरुवात गत फागुनमा ललितपुरको च्यासलमा सेट निर्माण गरी गरिएको थियो। त्यसपछि गण्डकी प्रदेशअन्तर्गत स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुवारीमा फिल्म खिचिएको हो।

महिलाप्रधान कथावस्तुमा आधारित यो फिल्म तीजको अवसर पारेर आउँदो भदौ १२ गतेदेखि नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउने तय भएको छ।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको *‘कोशेढुंगा’*मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा देखिनेछिन्, र फिल्मको कथा उनीमै केन्द्रित रहेको बताइएको छ। फिल्ममा उनीसँगै आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल आफै हुन्। प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्। छायांकन बाबु श्रेष्ठले गरेका छन् भने संगीतमा आशिष अविरल र रिदम कँडेलले काम गरेका छन्। सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन्।