कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ अब निर्देशनमा पनि सक्रिय हुँदैछन्। उनले आफ्नो निर्देशनमा नयाँ फिल्म ‘मैझारो’को घोषणा गरेका छन्। सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै फिल्मको औपचारिक जानकारी गराइएको हो।
‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’ जस्ता अघिल्ला योजनाहरू घोषणामा सीमित भए पनि ‘मैझारो’ वास्तविक निर्माणमा पुग्ने पक्का भएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा विल्सन स्वयंले स्क्रिप्ट लेखेका छन्। यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, सौरभ लामाको छायांकन रहनेछ।
पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरमा छायांकन हुने फिल्म ‘मैझारो’ले स्थानीय जीवनशैली, संस्कृति र सामाजिक यथार्थता प्रस्तुत गर्नेछ। ‘मैझारो’को अर्थ कुनै काम सम्पन्न गर्नु वा टुंग्याउनु भन्ने जनाइएको छ।
फिल्मका अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने जनाइएको छ। यसअघि ‘रातो घर’ फिल्म निर्माण गरिसकेका तक्मे प्रोडक्सनका हास्य सिरियल र म्यूजिक भिडियोहरू दर्शकमाझ निकै लोकप्रिय छन्।
विल्सनले ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् भने उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेदेखि प्रदर्शनमा आउँदैछ।