हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ। डान्सिङ शैलीमा तयार गरिएको यस गीतमा दीपक शर्माको शब्द रचना र संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीले स्वर दिएका छन्। गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा चलचित्रका प्रमुख जोडी केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ। कविराज गहतराजको कोरियोग्राफीमा बनेको भिडियोमा केदारले वर्षालाई "रानी बनाउने" भन्दै फकाइरहेका छन् भने वर्षाले "मन चोरेर भाग्न नपाइने" सर्त राखेकी छन्। उनीहरूको केमेस्ट्री दर्शकलाई आकर्षक लाग्न सक्छ।

ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्ममा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय देख्न पाइनेछ भने आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन्।

चलचित्रका प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् भने निर्माता मधुसुदन शर्मा हुन्। मुनाल दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। संगीतमा दीपक शर्मा र बाबुल गिरीको पनि योगदान रहेको छ।

पैसाको बलमा आफूलाई राजा ठान्ने पात्रको कथामा आधारित यो फिल्मले हास्य, व्यङ्ग्य र मनोरञ्जनको स्वाद दिने अपेक्षा गरिएको छ।