आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ ले प्रचार सामग्रीमार्फत दर्शकहरूमा सकारात्मक चर्चा बटुल्न थालेको छ। दुई हप्ताको अन्तरालमा सार्वजनिक गरिएको टिजर र गीत ‘झुम्का कानैमा’ ले फिल्मप्रति चासो र अपेक्षा बढाएको देखिन्छ।
टिजरमा देखिएको सौगात मल्लको प्रभावशाली अभिनयले विशेष चर्चा कमाएको छ। सामाजिक सञ्जाल र युट्युब कमेन्टमा दर्शकहरूले उनको अभिनयलाई गहिरो, सशक्त र वास्तविक जीवनसँग नजिकको अनुभव भएको प्रतिक्रिया दिएका छन्। साथै, टिजरमा समावेश संवाद र दृश्य संयोजनले सौगात मल्ल र बेनिशा हमालको जोडीलाई दर्शकले रुचाएका छन्।
११ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको टिजरमा धेरैजसो प्रतिक्रिया सकारात्मक देखिन्छन्। त्यस्तै गरी, फिल्मको गीत ‘झुम्का कानैमा’ ले पनि तीन सातामा १० लाख भ्यूज पाइसकेको छ। गीतका शब्द, संगीत र गायनलाई दर्शकहरूले मौलिक र मीठो भन्दै प्रशंसा गरेका छन्।
टिजर र गीत दुवैलाई दर्शकले रुचाएपछि निर्माण टिम उत्साहित देखिएको छ। निर्देशक राज बहादुर सानेका अनुसार, दर्शकको यो प्रतिक्रियाले अब अन्य गीत र ट्रेलरलाई अझ उत्कृष्ट बनाउनु पर्ने चुनौती थपिएको छ।
फिल्म ‘सिटामोल’ मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, आरआर खड्का, पवन भट्टराई, बाल कलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डीसिको अभिनय रहेको छ। प्रदीप भारद्वाज र निर्देशक सानेको लेखनमा तयार भएको फिल्मको छायांकन दिव्य सुवेदीले गरेका छन्, भने प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्।