आज बाट फिल्म ‘यो मन त मेरो नेपाली हो’सिनेमा घरमा प्रदर्शनमा आएको छ ।शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो फिल्म असार महिनाको पहिलो र अन्तिम रिलिज बनेको छ। नेपाली भाषा, संस्कृति, संस्कार र भूमि जोगाउनुपर्छ भन्ने भावनासहितको कथावस्तुमा आधारित यस फिल्मलाई मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् भने ज्ञानबहादुर प्रधान (रोशन)ले लगानी गरेका हुन्।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारजस्ता कलाकारको अभिनय देख्न सकिन्छ। शिवम् अधिकारीको पटकथा रहेको फिल्मले भुटानी शासकबाट निष्कासित भई नेपाल आएका भुटानीहरूको कथा समेत समेटेको छ।

झापा, इलाम, सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल हुँदै अमेरिका सम्म छायांकन गरिएको फिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी, दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, बनिष शाहको सम्पादन र देव महर्जनको द्वन्द्व रहेको छ।

फिल्मले देशभर ५० बढी शो पाएको भए पनि पहिलो दिनको बिहानी शोमा दर्शकको उपस्थिति अत्यन्तै कम देखिएको छ— अकुपेन्सी २ प्रतिशतभन्दा पनि कम। केही शो त दर्शक नहुँदा रद्द समेत भएका छन्। यस्तो अवस्थामा फिल्मको व्यापारिक सफलताको लागि ‘वर्ड अफ माउथ’ अत्यन्तै महत्वपूर्ण बन्न आएको छ।

हालै काठमाडौंमा आयोजित प्रिमियर शोमा फिल्मको कथावस्तु र प्रस्तुतीको प्रशंसा गरिएको थियो। त्यसैले निर्माण पक्ष दर्शकहरूले फिल्म मन पराउनेमा आशावादी छ।