‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले आफ्नै निर्देशन र निर्माणमा बन्न लागेको फिल्म ‘मैझारो’ का लागि सशक्त कलाकारहरूको टिम तयार पारेका छन्।
गत साता फिल्मको औपचारिक घोषणा गरेका राईले अहिलेसम्म धीरज मगर, मिरुना मगर, सुनिल थापा, र पुष्कर गुरुङलाई अनुबन्ध गरिसकेका छन्। यिनै क्रममा शनिबार उनले अभिनेत्री दीया पुनलाई पनि फिल्ममा अनुबन्ध गरेका छन्।
**‘वीर विक्रम’**बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी दीयाको पछिल्लो फिल्म ‘दयारानी’ बक्स अफिसमा सफल भएको थियो। उनले ‘मिस्टर झोले’, ‘मन्त्र’ जस्ता चर्चित फिल्महरूमा पनि अभिनय गरेकी छन् भने उनको नयाँ फिल्म ‘एक्लो’ आगामी पुषमा रिलिज हुने तयारीमा छ।
तक्मे प्रोडक्सनको ब्यानरमा बन्ने ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित फिल्म हुने जनाइएको छ। फिल्मको छायांकन पूर्वी नेपालका रमणीय स्थानहरू इलाम र पाँचथरमा गरिनेछ भने आगामी साउनको पहिलो साताबाट छायांकन सुरु हुने तयारी छ।
फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन्। गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, र अनमोल गुरुङको स्वर समावेश हुनेछ। फिल्मको कथा लेखन स्वयं निर्देशक राईले गरेका छन्।