आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अभिमन्यु’ को मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निलो रङको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागारको अगाडि खुसीले चिच्याइरहेका अवस्थामा देखिएका छन्। पोस्टर हेर्दा उनी कारागारबाट मुक्त भई स्वतन्त्रताको अनुभूति गर्दै चिच्याएको संकेत देखिन्छ।
‘पूर्णबहादुरको सारङ्गी’ जस्तो कीर्तिमानी फिल्मका निर्माता विनोद पौडेलको निर्माणमा बनेको ‘अभिमन्यु’ मा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला जस्ता कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने पटकथा मुकेश खनालले लेखेका छन्। छायांकनमा शरद महतो, सम्पादनमा मदन घिमिरेतथा निर्माणमा विनोद पौडेललाई गुञ्जन गिरीले साथ दिएकी छिन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताको रूपमा जोडिएका छन्।
नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुने यो फिल्मको हिन्दी संस्करण असोज ६ गते प्रदर्शन हुने तय गरिएको छ।
‘अभिमन्यु’ पैसाको लोभमा फसेर चक्रव्यूहमा अल्झिएका व्यक्तिको संघर्ष, मुक्ति र आत्मबोधको कथा बोकेको सामाजिक र भावनात्मक फिल्म हुने निर्माता पक्षको दाबी छ।