सुपरहिट फिल्म ‘अञ्जिला’पछि निर्देशक मिलन चाम्स अब प्रेमकथामा आधारित नयाँ फिल्म सुम्निमा लिएर दर्शकमाझ आउन लागेका छन्। फिल्ममा मुख्य भूमिकाका लागि अभिनेत्री उपासना सिंह ठकुरी र मोडल तथा अभिनेता कुन्साङ बमजनको जोडी बाँधिने भएको छ।

उपासना पहिले नै फिल्ममा अनुबन्धित भइसकेकी हुन् भने कुन्साङलाई निर्देशक चाम्सले आइतबार औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेका हुन्। सुम्निमामार्फत उपासना र कुन्साङ पहिलोपटक एउटै स्क्रिनमा देखिँदै छन्।

कुन्साङका अनुसार मिलन चाम्सको फिल्ममा काम गर्न पाउनु गौरवको कुरा हो। उनले आफूले निभाउने पात्रमा पूर्ण न्याय गर्ने अठोट लिएका छन्। मोडलिङ पृष्ठभूमिबाट अभिनयमा प्रवेश गरेका कुन्साङले गत वर्ष फिल्म दान्भीबाट डेब्यु गरेका थिए। साथै, उनले दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्ने यो फिल्मको कथा लेखक राजीव थापाले लेखेका हुन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी अगस्टमा नेपाल र लण्डनमा गरिनेछ। निर्देशक चाम्सका अनुसार फिल्मको कथा 'यूनिभर्सल' हुनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य राखेर निर्माण गरिनेछ।

सुम्निमा मिलन चाम्सको ११औं निर्देशकीय फिल्म हो, र यो प्रेम, भावना र सांस्कृतिक स्पर्शसहित दर्शकको मन जित्ने तयारीमा रहेको छ।