अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा अभिनय गरेको फिल्म गुन्यो चोलो आगामी भदौ १३ गतेऋषिपञ्चमीको भोलिपल्ट, प्रदर्शनमा आउने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिइएको हो।

गीतको भिडियोमा नाजिर बेहुलीझैं सिंगारिएर भावुक मुद्रामा नृत्य गरिरहेका देखिन्छन्। उनको हाउभाउ, चालचलन, र नृत्य शैली सम्पूर्णरूपमा महिलाजस्तै छ। नृत्यका क्रममा उनको अनुहारमा पीडा र संवेदनशीलता झल्किएको छ। यस भूमिकाका लागि उनले करिब १६ केजी तौल घटाएका थिए।

कमल राईको कोरियोग्राफी रहेको उक्त गीतमा नाजिरसँगै सुशील सिटौला, उत्तम केसी, स्व. सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारको उपस्थिति छ। गीतमा मनीषा पोखरेलको सशक्त गायन सुन्न सकिन्छ भने शब्द तथा संगीत लेखु सहयात्रीको रहेको छ। लेखुले संगीत भरेको यो पहिलो गीत हो। कार्यक्रममा गायिका पोखरेलले गीतको सानो अंश प्रत्यक्ष गाएर सुनाएकी थिइन्।

समुन्द्र भट्टको निर्देशनमा बनेको यो फिल्ममा नाजिरको आमाको भूमिकामा सञ्चिता लुईँटेल र दिदीको भूमिकामा पत्रकार निशा बजगाईँदेखिनेछन्। त्यस्तै फिल्ममा विशाल पहारी, अनुपम श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।

फिल्मको पटकथा निर्देशक भट्ट र अभिनेता नाजिर हुसेन स्वयंले तयार पारेका हुन् भने छायांकनको जिम्मा आलोक शुक्लाले लिएका छन्।