निर्देशक कृषा चौलागाईं यतिबेला आफ्नो नयाँ फिल्म ‘जहाजैमा’ निर्माणको तयारीमा व्यस्त छिन्। हाल फिल्मको प्री-प्रोडक्सन कार्य र कलाकार छनोट प्रक्रिया एकसाथ अघि बढिरहेको छ।

यस फिल्ममा नेपाली र जापानी कलाकारहरूको दमदार लाइनअप रहेको छ। हालसम्म सौगात मल्लकेदार घिमिरे (माग्ने बुढा)कर्मा शाक्यवर्षा सिवाकोटी, र जापानी अभिनेत्री रुजेल इचिमिया फिल्ममा अनुबन्धित भइसकेका छन्। यस्तै, अर्को मुख्य भूमिकाका लागि अनुभव रेग्मीपनि फिल्ममा अनुबन्ध भएका छन्।

निकट स्रोतका अनुसार, अनुभव र निर्माण पक्षबीच यसै साता कागजी सम्झौता भएको छ। यद्यपि, यसबारे निर्माण पक्षले औपचारिक जानकारी गराइसकेको छैन। एक कार्यक्रममार्फत अनुभवको नाम सार्वजनिक गरिने तयारी गरिएको छ। फिल्ममा अनुबन्ध भएपछि निर्माताले अनुभवलाई विशेष उपहार समेत दिएको बताइएको छ।

अनुभव रेग्मी सानै उमेरदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन्। उनले ‘नाइँ नभन्नू ल’ फिल्म श्रृंखलामा बाल कलाकारका रूपमा अभिनय गरेका थिए। त्यसपछि उनले ‘रिदम’, ‘काली’, ‘आवरण’, ‘प्रेमगीत ३’, ‘शब्द’, ‘भैरे’, ‘हजार जुनीसम्म’ जस्ता फिल्महरूमा काम गरेका छन्। तर, ‘जहाजैमा’ फिल्मबाट उनी मुख्य अभिनेताको रूपमा डेब्यू गर्न लागेका हुन्। फिल्ममा उनी नेपालबाट जापान पढ्न जाने पात्रको भूमिकामा देखिनेछन्।

विशेष कुरा के हो भने, अनुभव निर्देशक चौलागाईंको पहिलो रोजाइ थिएनन्। फिल्मको टिमले पहिले अभिनेता प्रदीप खड्कालाई अफर गरेको थियो। यसै सिलसिलामा टिम बागलुङ पुगेर प्रदीपसँग छलफलसमेत गरेको थियो। तर, प्रदीपले भदौदेखि अर्को फिल्मको छायांकन भएकाले समय नमिल्ने जनाएपछि अनुभवलाई अनुबन्ध गरिएको हो।

फिल्मको छायांकन जापानबाट सुरु हुनेछ भने नेपाल र फिलिपिन्समा पनि छायांकन हुने बताइएको छ। यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका निर्माता उज्ज्वल गुरागाईं हुन्। उनले जापानमा नेपाली फिल्म वितरण गर्दै आएका छन् र ‘जहाजैमा’ फिल्ममार्फत निर्माणमा डेब्यू गर्न लागेका हुन्।

फिल्म आउँदो भदौबाट छायांकनमा जानेछ र फागुन १ गते प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।