फिल्म ‘पूर्ण बहादुरको सारंगी’ का प्रमुख अभिनेता विजय बरालले मुख्य भूमिका निभाएको दोस्रो फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। करिब २ मिनेट लामो टिजरमा कोरिया जाने सपना बोकेर काठमाडौं आएका एक युवकको संघर्षपूर्ण यात्रा भावनात्मक ढंगले चित्रण गरिएको छ।
विवाहको दृश्यबाट सुरु हुने टिजरले मुख्य पात्र विजय बरालको वरिपरि कथा फन्को मारेको छ। बुबालाई मनाएर गाउँबाट राजधानी निस्किएको युवकको सपना, गाउँलेबाट भएको ठगी, काठमाडौंमा टिक्नुपर्ने संघर्ष, अनि सपना चकनाचुर हुँदा महसुस गरिने पीडा—सबै पक्षलाई टिजरले गहिरो रुपमा देखाएको छ। साथै, प्रेमको झलक पनि देख्न सकिन्छ।
फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् भने असोसियट निर्देशकको भूमिका मनिष राउतले निर्वाह गरेका छन्। विजय बरालसँगै फिल्ममा केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय रहेको छ।
पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण भएको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माताहरूमा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
फिल्मको छायांकन नवीन गुरुङले गरेका छन् भने सिनेमेटोग्राफी कृष्ण परियारको छ। कथा भानुभक्त ढकालले लेखेका हुन् र सम्पादन भरत रेग्मी तथा मदन घिमिरेले गरेका छन्।
फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।