एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चमेलीको पोइ आगामी चैत १३ गते, रामनवमीको दिनदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक तीनवटा पोस्टरले फिल्मको हास्यप्रधान सामाजिक कथालाई झल्काउँछ, जहाँ मुख्य पात्र सुरक्षा पन्त र मुकुन भुसाल विचको सम्बन्ध अनौठो तर रोचक देखिन्छ। एउटामा सुरक्षाले मुकुनलाई खुट्टा समातेर घिसारिरहेकी छन् भने अर्कोमा मुकुन गुलाबको फूल लिएर सुरक्षासँग उभिएका छन्, जहाँ सुरक्षा काँधमा बन्दुक बोकेर हर्षित मुद्रामा देखिन्छिन्। तेस्रो पोस्टरमा मुकुनले सुरक्षाको खुट्टा मिचिरहेका छन्। यी दृश्यहरूले मुकुन फिल्ममा "पीडित श्रीमान्"को भूमिकामा देखिन सक्ने अनुमान लगाइएको छ। फिल्ममा सुरक्षा र मुकुनसँगै विल्सन विक्रम राई, रविन्द्र झा, नारायण त्रिपाठी, बबिन राई, अंशु महर्जन, उमेश राई, रजनी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा बनेको फिल्मका निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन् भने कार्यकारी निर्माता उदय विक्रम राणा र रितु मल्ल ठकुरी हुन्। फिल्ममा शेरबहादुर तामाङको छायांकन तथा बन्दे शाह र सुजन बडालको सम्पादन रहेको छ। सामाजिक सन्देश र मनोरञ्जनको संयोजन गरिएको चमेलीको पोइ दर्शकलाई हाँसो र सोच दुबै दिन सक्ने अपेक्षा गरिएको छ।