अभिनेता तथा हास्यकलाकार विल्सन विक्रम राईको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘मैझारो’ को छायांकन पूर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको छ। बिहीबार स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजासहित शुभ मुहूर्त गर्दै फिल्मको पहिलो दृश्यमा अभिनेता धीरज मगरको अभिनय खिचिएको हो।
फिल्ममा धीरजसँगै मिरुना मगर, दीया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीको समेत अभिनय रहनेछ। पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थता फिल्मको मुख्य विषयवस्तु बन्ने जनाइएको छ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने पार्श्व गायनमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङ रहेका छन्। छायाँकारको रूपमा सौरभ लामा संलग्न छन्।
फिल्म ‘मैझारो’मार्फत निर्देशनमा डेब्यु गर्न लागेका विल्सनले यसअघि म्यूजिक भिडियो र टेलिश्रृंखलामा निर्देशन गरिसकेका छन्। उनले सन् २०१७ मा ‘रातो घर’ निर्माण गरेका थिए भने हालै मात्र उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको थियो। करिअरमा ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका विल्सनको निर्देशन यात्रा यो फिल्ममार्फत औपचारिक रूपमा सुरु हुँदैछ।