गायक, संगीतकार तथा निर्माता अनिस ‘ओकिली’ सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। ९० को दशकमा ‘मेरी ओकिली’‘झ्याबाट हेर’ जस्ता गीतमार्फत लोकप्रियता कमाएका ओकिली अहिले अमेरिकास्थित स्याक्रामेन्टोमा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका छन्।

स्वर, शब्द र संगीत सबैमा ओकिली स्वयंको योगदान रहेको यस गीतमा उनले प्रेमको काल्पनिक संसारलाई चित्रण गरेका छन्। पप/सफ्ट–रक विधामा तयार गरिएको यस गीतको भिडियोमा पनि उनी आफैं मोडलको रूपमा प्रस्तुत भएका छन्। एरिशा श्रेष्ठको साथमा अभिनय गरेका ओकिली भन्छन्, “यसपटक भिडियोमा आफैं देखिनु मेरो लागि एक नयाँ अनुभव रह्यो।”

गीतको छायांकन, सम्पादन, निर्देशन र रंग संयोजन गायक तथा संगीतकार जेम्स प्रधानले गरेका हुन्। अमेरिकाको रमणीय दृश्यमा सुन्दर ढंगले खिचिएको यो म्युजिक भिडियोले दर्शकको मन जित्नेमा ओकिली आशावादी छन्।

उनले भने, “एउटा प्रेमभावको गीत तयार गर्ने मेरो चाहना थियो, जुन यस गीतमार्फत पूरा भयो। यसपटक निर्देशक जेम्स दाईले मलाई नै भिडियोमा प्रस्तुत गर्न आग्रह गर्नुभएपछि म अघि आएको हुँ। आफ्नो गीतको भावलाई म जस्ताको तस्तै उतार्न सफल भएको छु भन्ने लाग्छ।”

अघिल्लो एल्बम ‘रिदम काठमाडौं’ ल्याइसकेका ओकिलीले यो पटक सिंगल ट्रयाक ल्याएका हुन्। उनका अनुसार, “प्रचारप्रसारसँगै निर्माण प्रक्रिया पनि सजिलो हुने भएकाले सिंगल गीत ल्याउने निर्णय गरेको हुँ। साथै, मेरो आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेँ ताकि मेरा सबै गीतहरू एकै ठाउँमा उपलब्ध होऊन्।”

गीतको एरेन्ज जेनरिक्सले गरेका हुन् भने ‘स्वर्ग मेरो’ गीत ओकिलीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ lओकिलीले सन् १९९० को दशकमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा आफ्नो संगीत यात्रा सुरु गरेका थिए। ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिमी नै राम्री’, ‘तिम्रो बानी ब हो’ जस्ता हिट गीतमार्फत उनले नेपाली संगीतप्रेमीको मन जितेका छन्। पछिल्लो समयको चर्चित गीत ‘सिमला भुवा’ पनि उनका चर्चित सिर्जनामा पर्छ।

दुई दशकभन्दा बढी समयदेखि नेपाली र अन्तर्राष्ट्रिय संगीत क्षेत्रलाई योगदान दिँदै आएका ओकिली नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सबाट ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने कलाकार समेत हुन्। आधुनिक नेपाली पप र गहिरो कथावस्तु मिसिएको संगीत सिर्जनामा उनले बनाएको अलग पहिचान अझ बलियो बन्दै गएको छ।