लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन’का निर्माता तथा थ्री प्रोडक्सन प्रा.लि.का प्रमुख विशाल भण्डारीले आफूमाथि भएको गम्भीर आर्थिक अन्याय, मानसिक यातना र कम्पनी सञ्चालनमा अवरोध सम्बन्धी विषयमा सार्वजनिक रूपमा मुख खोलेका छन्।

उनका अनुसार झण्डै १८/१९ महिनाअघि आफूलाई एनआरएन बताउने एक व्यक्तिले ३ करोड ५० लाख लगानी गर्ने सहमति जनाउँदै कम्पनीमा ३० प्रतिशत शेयर लिए। आपसी सम्झौताअनुसार २४ महिनासम्म लगानी फिर्ता नगर्ने प्रष्ट लेखिएको थियो। सुरुमा १ करोड ५० लाख तत्काल दिनुपर्ने र बाँकी मुनाफाको हिसाबपछि थप गरिने मौखिक समझदारी थियो। कम्पनी रजिस्टार कार्यालयमा कागजात अद्यावधिक गराएर शेयर बाँडफाँड गरिएको थियो भने चेकमा एकल हस्ताक्षरको अधिकार विशाल भण्डारीकै नाममा थियो।

तर, सिजन ३ सकिएपछि ती व्यक्तिले सम्झौता विपरीत दबाब दिन थाले। कम्पनीका चेकहरू लगेर आफैं सञ्चालक रहेको कम्पनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गर्दै २ करोड ४० लाख रुपैयाँ जबरजस्ती असुलेको भण्डारीको आरोप छ। सम्पूर्ण कारोबार बैंकमार्फत गरिएको र आवश्यक प्रमाण आफ्नोमा भए पनि ती व्यक्तिले पहुँच र शक्तिको दुरुपयोग गर्दै पैसा असुल गर्ने, मिलापत्र नगर्ने, उल्टै मुद्दा हालेर कार्यक्षमता अवरुद्ध गर्ने काम गरेको उनले बताएका छन्।

उनले थप भने, "उक्त रकम लिएर पनि न मिलापत्र गरिन्छ, न कम्पनी छोडिन्छ, न हिसाब दिन खोजिन्छ। उल्टै अदालतको मुद्दा बारम्बार सार्ने, कार्यक्रम बन्द गराउने, खाता रोक्का गराउने, धम्की दिने र कम्पनीमा त्रासको वातावरण सिर्जना गर्ने काम भइरहेको छ।"

उक्त घटनाको असरले कमेडी च्याम्पियन सिजन ३ को विजेतालाई घोषणा गरिएको पुरस्कारसमेत हालसम्म दिन नसकिएको भण्डारी बताउँछन्। कतिपय प्राविधिक तथा विभागीय कर्मचारीहरूको तलबसमेत रोकिएको छ। कम्पनीको खाताबाट अचानक २ करोड ४० लाख झिकिँदा संचालनमा गम्भीर समस्या उत्पन्न भएको उनले जनाएका छन्।

विशाल भण्डारीले यस विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमार्फत जानकारी गराउँदै सहयोगको अनुरोध गरेका थिए। तर, त्यो अनुरोध कहाँ पुग्यो भन्नेबारे उनी आफैं अन्योलमा छन्। "शायद मेरो मुद्दा सानो ठानिएको होला, तर मसँग काम गर्ने सयभन्दा बढी कलाकार र प्राविधिकहरूको भविष्य यहीँ जोडिएको छ," उनले भावुक हुँदै भने।

भण्डारीले दोषी व्यक्तिको नाम र तस्बिर अहिलेसम्म सार्वजनिक नगर्नुको कारण पनि स्पष्ट गरेका छन्। "दोषी एक जना हो, तर उनका परिवार र बालबच्चा लज्जित नहोस् भनेर नाम र तस्बिर राखिएको छैन," उनले भने।

अन्त्यमा भण्डारीले सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिमका लागि काम गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। "हामी यही देशमै बसेर कला सिर्जना गर्न, दर्शकलाई हँसाउन चाहन्छौं। तर यस्तो अन्यायबीच त्यो सम्भव छैन। अब सरकार र सम्बन्धित निकायले हाम्रो आवाज सुन्नैपर्छ," उनले जोड दिए।