‘होस्टेल ३’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी टिकटक स्टार सिम्रन पन्त अब नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा देखिने भएकी छिन्। निर्माता टोलीले उनलाई सोमबार औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेका हुन्।

सिम्रनको जोडी यसपटक अभिनेता पल शाहसँग बाँधिनेछ। झन्डै ६ लाखभन्दा बढी फलोअर्स भएकी सिम्रन टिकटकमा निकै लोकप्रिय छिन्, जसको कारण उनले फिल्म क्षेत्रमा पनि पहिचान बनाउँदै गएकी छन्।

फिल्मको निर्देशन द्वन्द्व निर्देशक चन्द्र पन्तले गर्दैछन्। यसमा पल र सिम्रनसँगै अभिनेत्री विपना थापा र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत पनि देखिनेछन्। फिल्ममा विपना र प्रदीपले पल शाहका आमा-बुबाको भूमिका निर्वाह गर्नेछन्।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुति रहने यो फिल्म भदौबाट छायांकनमा जाने तयारीमा छ। फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ। ‘आ बाट आमा’ले आमा र छोराबीचको भावनात्मक सम्बन्ध प्रस्तुत गर्नेछ।