निर्देशक खिल बहादुर गुरुङ र लेखक उपेन्द्र सुब्बाको संयोजनमा बनेको नयाँ नेपाली फिल्म ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ। झन्डै दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तु, चरित्रहरूको मनोदशा र केन्द्रीय द्वन्द्वबारे संकेत गर्छ।

गुरुङ समुदायको परम्परा, संस्कृति र लाहुरे जीवनशैलीमा आधारित फिल्म ‘रिमै’ त्रिकोणात्मक प्रेमकथामा आधारित देखिन्छ। टिजर अनुसार, दयाहाङ राई र रिश्मा गुरुङको विवाहपछि अर्पण थापा वियोगमा देखिन्छन्। अर्पणले घोडाबाट सामान ढुवानी गर्ने एक रहस्यमयी पात्रको भूमिका निर्वाह गरेका छन्, जसले कथाको केन्द्रीय द्वन्द्व बोकेको अनुमान गर्न सकिन्छ।

फिल्ममा दयाहाङ, रिश्मा र अर्पणसँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म ‘रिमै’ का निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन्। शैलेन्द्र ध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, र मित्र डि गुरुङको सम्पादन रहेको फिल्म आगामी भदौ २० गतेबाट देशभर प्रदर्शनमा आउनेछ।