नयाँ प्रतिभा जन्माउने सिरिजको रुपमा चिनिएको ‘होस्टेल’को चौथो श्रृंखला ‘होस्टेल अगेन’ बन्ने पक्का भएको छ। गत वर्ष फागुनमा रिलिज भई सफल भएको ‘होस्टेल ३’ पछि निर्माण समूहले यही वर्ष ‘होस्टेल अगेन’ को तयारी थालेको हो।

निर्माताले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका छन्। रगत लतपतिएको चक्कुले गुलाब र च्यातिएको डायरी दबाएको दृश्यले यो श्रृंखला अघिल्लाभन्दा फरक—थ्रिलर र सस्पेन्सले भरिएको हुने संकेत गर्छ।

फिल्मको निर्देशन फेरि पनि सशान कँडेलले नै गर्दैछन्, जसले ‘होस्टेल ३’ पनि निर्देशन गरेका थिए। लेखक माधव शर्मा, कार्यकारी निर्माता शङ्कर कोइराला, र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स पनि अघिल्लै जस्तै टोलीमा छन्।

अहिलेसम्म कलाकार तय नभए पनि यसपटक पनि नयाँ अनुहारहरूलाई मौका दिने तयारी रहेको निर्देशक कँडेलले बताएका छन्।

‘होस्टेल अगेन’ यसै वर्ष छायांकनमा जानेछ। यद्यपि, अघिल्लो चैतमा घोषणा गरिएको ‘बाउ भर्सेज छोरा’ भने कलाकारहरूको व्यस्तताका कारण अर्को वर्षका लागि सारिएको छ।