आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म माग्ने राजा को गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको उक्त गीतले पैसाको घमण्ड देखाउने एक धनी पात्रको जीवनशैलीलाई प्रस्तुत गर्छ।

गीतको भिडियोमा मुख्य अभिनेता केदार प्रसाद घिमिरे 'माग्ने बुढा'लाई असाध्यै धनाढ्य अवतारमा देखाइएको छ। 

गीतमा बाबुल गिरीको स्वर रहेको छ भने संगीत, शब्द रचना तथा एरेञ्ज पनि उनले स्वयं गरेका हुन्। गीतको अन्त्यमा चाइल्ड भर्सन पनि राखिएको छ, जसमा फिल्मका बाल कलाकार रोनिश खड्काको स्वर सुन्न सकिन्छ। यस चाइल्ड भर्सनमार्फत बालबालिकालाई "पैसाभन्दा पढाइ ठूलो" भन्ने सकारात्मक सन्देश दिन खोजिएको छ। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा माग्ने बुढासहित वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय देख्न सकिनेछ भने चर्चित अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा प्रस्तुत हुँदैछन्।

मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मित्र डी. गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ।

माग्ने राजा पैसाको बलमा आफूलाई राजा ठान्ने एक पात्रको कथामा आधारित छ। तीजको छेको पारेर सार्वजनिक हुन लागेको यस फिल्मले दर्शकमाझ फरक स्वादको मनोरञ्जन ल्याउने अपेक्षा गरिएको छ।